दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर घाइते भएका थप एक जनाकाे मृत्यु भएकाे छ । पहिराले पुरिएर घाइते भइ उपचारका लागि पाेखरा पठाइएका उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राईकाे पाेखरामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । उनकाे गएराति मृत्यु भएकाे हाे ।
अर्का घाइते झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भिम भुजेलकाे साेमबार नै दमाैली अस्पतालमा मृत्यु भएकाे थियाे ।
ढिस्कोले पुरिएर घाइते झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देलको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए ।