दमाैली । व्यास नगरपालिका–२ गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरको व्यापारिक सटर जिल्ला समन्वय समितिले भाडामा लगाउने तयारी गरेपछि वडावासीले विरोध जनाएका छन् । उक्त ठाउँलाई खुल्ला पार्कको रुपमा निर्माण गर्नुपर्ने वडावासीको माग छ ।
आगामी असार मसान्तपछि ट्रेड सेन्टर जिल्ला समन्वय समितिको स्वामित्वमा आउने र साउन १ गतेदेखि उक्त सटर जिल्ला समन्वय समितिले प्रतिस्पर्धाबाट भाडामा लगाउने तयारी गरेको छ ।
वडावासीले भने जिल्ला समन्वय समितिको उक्त तयारीप्रति आपत्ति जनाएका छन् । व्यास नगरपालिका–२ का वडा सदस्य समेत रहेका सुरेश वाग्लेले उक्त कार्यमा पुर्नविचार गर्न समन्वय समितिलाई आग्रह गरे । बढ्दो जनघनत्वसँगै वडाभित्र खुल्ला ठाउँ नरहेकाले आफूहरुले उक्त ठाउँलाई पार्कको रुपमा विकास गर्नुपर्ने पटक–पटक बताउँदै आएको उनले उल्लेख गरे ।
“विसं २०६९ सालमा जिल्ला समन्वय समितिले दिपेश बस्नेतलाई सम्झौता गरी उक्त ठाउँमा व्यापारिक सटर बनाउन दिँदा पनि हामीले विरोध गरेका थियौ, जबरजस्ती खुल्ला ठाउँलाई व्यापारिक सटर बनाइयो । पाँच वर्षका लागि दिइएकामा पुनः पाँच वर्ष बिना प्रतिस्पर्धा म्याद थप गरियो,” वाग्लेले भने ।
उक्त जग्गा जिल्ला समन्वय समितिको स्वामित्वको रहेपनि वडासँग पनि सरोकार भएकाले समन्वय समितिले वडावासीहरुसँग सहकार्य गर्नुपर्ने वाग्लेको माग छ । उनले भने, “उक्त व्यापारिक सटरका सबै संरचना २०८० साउन १ गतेदेखि समन्वयको स्वामित्वमा आउँदैछ, अब समन्वयले फेरि टेण्डर गरेर यहाँ सञ्चालन गर्नुभन्दा वडावासीको माग अनुसार यसलाई खुल्ला पार्क बनाउनेतर्फ सोच्नुपर्छ ।”
उनका अनुसार वडाभित्रका १७ टोलका सभापति सहित स्थानीयवासीले ट्रेड सेन्टर हटाएर पार्क निर्माणका लागि हस्ताक्षर गरिसकेका छन् । उनले भने, “यो वडा घनाबस्ती भएको ठाउँ हो, विपद् आएका बेला खुल्ला ठाउँ छैन । त्यसलाई मध्यनजर गरी पार्क बनाउनुपर्छ भन्ने सबैको भावना हो ।”
सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी वडाको पनि भएकाले यसका लागि आफूहरु अग्रसर भएको वाग्लेको भनाइ छ ।