दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डायलासिस सेन्टर स्थापना गर्ने भएको छ । मिर्गौला पीडितका लागि डायलासिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस सेन्टर स्थापना गर्न लागेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, कार्यक्रम र बजेटमा डायलासिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ जना मिर्गौला पीडित रहेकाले उनीहरुलाई सहज रुपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने अध्यक्ष शुक्र चुमानले बताए ।
हाल तनहुँमा दमाैली अस्पतालमा मात्रै डायलासिस सेन्टर सञ्चालनमा छ । मिर्गाैला पीडितकाे सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालाे पर्खनुपर्ने अवस्था छ ।
गाउँपालिकाले अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानले बताए । उनले भने, “ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमित रुपमा अस्पतालमै हुनेछ ।”
गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फ्त ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएकाे छ । अध्यक्ष चुमानले महिलाको प्रजनन् स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए। गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे ।