दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एमविविएस अध्ययनका लागि एक छात्रलाई छात्रवृत्ति स्वरुप रु ११ लाख ६६ हजार सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिका–१ निवासी दिपक दवाडीका छोरा दिक्षण दवाडीलाई अध्ययनका लागि गाउँपालिकाले पहिलो किस्ता बापत रु ११ लाख ६६ हजार सहयोग गरेको हो ।
उक्त रकमको चेक गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रबार दवाडीलाई हस्तान्तरण गरे । गाउँपालिकाले दवाडीलाई कूल रु ३५ लाख प्रदान गर्नेछ । पहिलो किस्ता बापतको रकम आज हस्तान्तरण गरिएको अध्यक्ष चुमानले बताए ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भए बमोजिम ती विद्यार्थीलाई एमविविएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । चिकित्साशास्त्रमा स्नातक तह (एविविएस) अध्ययन गर्ने विद्यार्थीसँग छात्रवृत्ति करार सम्झौता गरी छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको अध्यक्ष चुमानले बताए ।
उनले भने, “अध्ययन पश्चात् अनिवार्य रुपमा दुई वर्ष आँबुखैरेनी अस्पतालमा सेवा गर्नुपर्ने शर्त राखिएको छ ।” गाउँपालिकाले गत मङ्सिरदेखि आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ ।
छात्रवृत्तिका लागि गाउँपालिकाले छात्रवृत्ति सम्बन्धी सूचना आव्हान गरेकामा छनोट समितिको सिफारिस बमोजिम दवाडीलाई पहिलो किस्ता बापतको रकम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गर्ने दवाडीले यो रकमले आफ्नो अध्ययनमा ठूलो टेवा मिलेको बताए ।