दमौली । नेपाल पत्रकार महासंघ तनहुँले सदस्यता शुद्धिकरण अभियानलाई विशुद्ध बनाउन नसकेको आरोप लागेको छ । ११४ सदस्यबाट ५१ मा झार्ने निर्णय गरेको महासंघले क्रियाशील नै नभएका र मार्केटिङमा खटिने, व्यवस्थापक, महासंघको कार्यक्रममा कहिल्यै सहभागी नभएकाहरुको पनि सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
महासंघको कार्यक्रममा नआउने, बैठकलाई भन्दा आफू काम गर्ने गैर सरकारी संस्थाको कार्यक्रमलाई बढी प्राथमिकता दिनेहरुको पनि सदस्यता नवीकरण गर्ने निर्णय गरिएको छ । ११ बजेको कार्यसमिति बैठकमा कार्यसमितिकै एक सदस्य ४ बजे आइपुगेका थिए ।
पत्रकार महासंघको कार्यसमितिमा प्रेस युनियन तनहुँको एकल बहुमत छ । युनियनकै स्वार्थ अनुसार नवीकरण नै नहुने केहीको नाम नवीकरण सूचीमा सार्वजनिक गरिएको छ। मानार्थ सदस्यतामा पनि मापदण्ड कायम नगरिएको गुनासो छ।
बैठकमा सहभागी इतर समूहका सदस्यलाई सुरुमै तर्साएर नवीकरण नै गर्न नहुने खालका केहीको सदस्यता नवीकरण गराइएको छ । पत्रकार महासंघका सचिव प्रताप राना र प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठबीच हात हाताहालको स्थिति समेत आएको थियो ।
महासंघको नेतृत्व गरिसकेका केही व्यक्तिले आफ्ना मान्छेलाई च्याप्ने नाममा क्रियाशील नै नभएकाको सदस्यता नवीकरण गरिएपछि शाखामा तालाबन्दी भएको छ ।