दूध उत्पादक कृषकलाई म्याग्दे गाउँपालिकाको रु १४ लाख अनुदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दूध उत्पादक कृषकलाई म्याग्दे गाउँपालिकाको रु १४ लाख अनुदान

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८०, बुधबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रम अन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई रु १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको हो ।

    गाउँपालिकाले प्रति लिटर रु ९.२० को दरले उत्पादनका आधारमा अनुदान दिने नीति बमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरिएको छ ।

    म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध विक्री गर्ने कृषकलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध विक्री गर्ने कृषकलाई रु दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत् दूध विक्री गर्ने कृषकलाई रु एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको छ ।

    म्याग्दे दुग्ध उत्पादक सहकारीले चालु आर्थिक वर्षमा एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध उत्पादन गरी विक्री गरेको हो ।

    सबैभन्दा बढी म्याग्दे सहकारीमार्फत् सदस्य नवराज घिमिरेले नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गरेका थिए । उनलाई रु ८६ हजार चार सय २४ अनुदान रकम वितरण गरिएको छ ।

    चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत् म्याग्दे सहकारीका ५५, गौ सेवा सहकारीका १० र साँगे चार हजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

    गाउँपालिकाभित्रका कृषकले उत्पादन गरेको दूध छिमेकी पालिकाका सहकारीमार्फत् विक्री वितरण गर्दा पनि गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै छ ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी लगायतले लाभग्राही कृषकलाई अनुदान रकम वितरण गरेका छन् ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने बताउँदै कृषि तथा पशुपालन व्यवसाय गर्ने कृषकलाई प्रोत्साहन गरिने उल्लेख गरे । उनले भने, “गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौ । यसले गर्दा दुग्ध उत्पादक कृषक पेशाप्रति आकर्षित र उत्साहित भएको पाएका छौ ।”

    उपाध्यक्ष घिमिरेले दूधको विभिन्न परिकार उत्पादन गरी बजारीकरण गर्न सकिने बताउँदै दूधको खुवा बनाएर विद्यार्थीलाईहरुलाई दिवा खाजा स्वरुप प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

    दूग्ध उत्पादक कृषकलाई प्रोत्साहनका लागि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ मा पनि उत्पादनमा आधारमा अनुदानको नीतिलाई निरन्तरता दिएको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । उनका अनुसार थुनेलो परीक्षण तथा उपचार शिविर, घाँसको नर्सरी स्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।

    म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका कार्यवाहक अध्यक्ष नवराज घिमिरेले पालिकाको पशु सेवा शाखा मार्फत् उपलब्ध अनुदान कार्यक्रम, सुत्केरी पोषण खर्च, पशु बीमा, अन्तर जिल्ला ढुवानी लगायतले दुग्ध उत्पादक कृषकलाई सहयोग पुगेको बताए ।