दमौली । तनहुँको भानु नगरपालिका–७ चन्दनीस्थित चण्डिका बालगृहमा २७ विपन्न बालबालिका छन् । गरिबीको रेखामुनी रहेका र विभिन्न समस्यामा परेका ती बालबालिकाले यहाँ आश्रय पाएका छन् । उक्त बालगृहमा दश वर्षदेखि विभिन्न ठाउँका बालबालिकाले आश्रय पाएका छन् ।
बालगृहको मासिक खर्च रु ७५ हजारभन्दा बढी छ । सरकारी निकाय वा सङ्घसंस्थाले यो बालगृह सञ्चालन गरेको होइन । स्थानीय समाजसेवी ८५ वर्षीय गुरुङले यो बालगृह सञ्चालन गरिरहेका छन् । मासिकरुपमा आउने खर्चको व्यवस्थापन पनि स्वयं गुरुङले नै गर्दै आएका छन् ।
चण्डिका आधारभूत विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका गुरुङले विपन्न बालबालिकालाई आश्रय दिन पाउँदा खुसी लागेको बताए । उनले भने, “मलाई सामाजिक काम गर्न पहिलेदेखि रुची हो । गरिबीको रेखामुनि रहेका बालबालिकालाई पालनपोषण गरिरहेको छु । मलाई आत्मसन्तुष्टि छ ।”
गुरुङका छोराछोरी विदेशमा छन् । छोराछोरीले नै मासिकरुपमा पैसा पठाइदिने र सोही पैसाबाट बालगृहका बालबच्चाको पालनपोषण गर्न सहयोग पुगेको उनी बताउँछन् । उनले भने, “कुनै सरकारी निकायको सहयोग छैन, मैले व्यक्तिगतरुपमा नै यसको व्यवस्थापन गरिरहेको छु ।”
उनले बालगृह व्यवस्थापनका लागि आफ्ना नाममा रहेको थुप्रै जग्गा बेचिसकेका छन्। “५०÷६० मुर धान उत्पादन हुने जग्गाजमिन पनि बालबाालिकाका निमित्त बेचेँ, अब पाँच÷छ रोपनी खेत बाँकी छ । त्यो पनि आवश्यक परे बालबालिकाको हितमा खर्च गर्न सक्छु,” उनले भने ।
८५ वर्षको उमेरसम्म पनि समाजसेवामा सक्रिय हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, “राम्रो काम गर्नका लागि उमेर बाधक नबन्दो रहेछ, राम्रैसँग खटिरहेको छु जस्तो लाग्छ ।”
कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा बालगृह वरपर रहेको जग्गामा फलफूलका बिरुवा रोपण गरिएको छ । बालगृहको अवस्थाका बारेमा जानकारी पाएपछि बालबालिकालाई कृषिसँग जोड्नका लागि सुन्तला, कागती, एभोकाडो, आँप, लिचीका बिरुवा रोपिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार निकट भविष्यमा तरकारी खेतीका लागि पनि सहयोग गरिनेछ । उनले भने, “एउटा व्यक्तिको प्रयासले बालगृह सञ्चालन गर्नु सकारात्मक काम हो । असहाय बालबालिकाका लागि सबैको सहयोग आवश्यक छ ।”