दमाैली । कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता आयोजना गरिएको छ । अहिलेका पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउने उद्धेश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा कौरा नाच प्रतियोगिता आयोजना गरिएको हो ।
डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा भएको प्रतियोगितामा ऋषिङ गाउँपालिका–१ स्थित झापुटार युवा क्लव प्रथम भएको छ । प्रतियोगितामा बन्दीपुरको छपेली युवा क्लव द्वितीय र बन्दीपुरकै कोरिखा युवा क्लव तृतीय हुन सफल भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २५ हजार पाँच सय ५५, सात हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पाँच वटा समूहको सहभागिता रहेको थियो ।
संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित कौरा नृत्य प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए। उनले भने, “कौरा नृत्य तनहुँको चिनारी हो । यसको संरक्षण गर्दै अहिलेका पुस्तालाई यसमा आकर्षित गराउनु कार्यक्रमको मुख्य उद्धेश्य हो ।”
विजयीलाई पुरस्कृत गर्दै वरिष्ठ लोक गायक प्रेमराजा महतले संस्कार र संस्कृति जोगाउनु सबैको कर्तव्य भएको बताए ।