दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा सोमबारदेखि तीज गीत प्रतियोगिता उद्घाटन सुरु भएको छ । हरितालिका तीज पर्वको अवसरमा न्यु भिजन युवा क्लवको आयोजनामा तीज गीत प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।
प्रतियोगिताको गण्डकी प्रदेश सांसद श्यामराजा महतले उद्घाटन गरे । सो अवसरमा उनले कला र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए । महतले क्लवले सामाजिक सुधार अभियानमा खेल्दै आएको भूमिका उदाहरणीय रहेको चर्चा गरे ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवाको नेतृत्व विकास र सामाजिक काममा क्लवबाट भएको कार्य सकारात्मक रहेको बताए ।
नेकपा (माओवादी) केन्द्र म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठले सामाजिक काममा क्लवले उदाहरणीय कार्य गर्दै आएको भन्दै प्रशंसा गरे । नेपाली कांग्रेस म्याग्दे सभापति रामभक्त घिमिरेले संस्कार र संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व रहेको उल्लेख गरे ।
क्लवका अध्यक्ष राजिव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जामुने नेवार समाजले लाखे नाच समेत प्रस्तुत गरेको थियो ।
प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार गायिका सम्झना लामिछाने मगर, हास्यकलाकार राजेन्द्र गिरी, डान्सर मिना गिरी, २१ इन्च होचो मान्छे मनोज गोर्खालीको प्रस्तुती रहने क्लवका प्रेस संयोजक विमल प्रधानले जानकारी दिए ।
विसं २०६८ सालमा स्थापना भएको संस्थाले भाइचाराको विकास गर्ने, हरेक युवालाई जागरुक बनाउन, युवा नेतृत्व विकास गर्न, संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले विविध कार्यक्रम गर्दै आएको छ ।
स्थापनाकालदेखि नै क्लवले प्रत्येक वर्ष हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको क्लवले जनाएको छ ।