सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा चहलपहल बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा चहलपहल बढ्यो

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८०, सोमबार

    दमौली । तनहुँको व्यास-५ मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन् ।

    दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।

    जाडो मौसम सुरु भएसँगै यहाँ पर्यटकको आगमन बाक्लिएको हो । गर्मी मौसममा प्रायः सुनसान रहने मानुङकोटमा चिसो मौसममा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ । अहिले दसैँ बिदाका कारण पनि बिहानैदेखि पर्यटकको आगमन सुरु भएको युवा अनिल अधिकारीले बताए । उनले भने, “अब मानुङकोटमा पर्यटकको चहलपहल बढ्ने बेला भयो, बडादसैँको नवौ दिन आज बिहानै एक हजारभन्दा बढी पर्यटकको आगमन भयो ।”

    अधिकारीका अनुसार राति मानुङकोटमै बास बसेर बिहानको दृश्य हेर्नेहरु पनि बढेका छन् । त्यसका अलवा बिहानै मानुङकोट पुग्ने पनि उत्तिकै छन् ।

    मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।

    मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम बढेको छ । मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरु पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् ।