एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा आउँदै, दर्ता नभएका मोबाइल बन्द गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा आउँदै, दर्ता नभएका मोबाइल बन्द गरिने

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८०, सोमबार

    काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ ।

    एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ ।

    आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

    एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ ।  एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।

    आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर नि:शुल्क दर्ता गराउन सकिन्छ ।