जापानलाई हराउँदै महिला टी-२० सिरिजमा नेपाल तेस्रो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जापानलाई हराउँदै महिला टी-२० सिरिजमा नेपाल तेस्रो

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८०, आईतवार

    काठमाडौ । हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ।

    चार देश सम्मिलित महिला टी-२० मा आइतबार बिहान जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो।

    हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सक्यो।

     जापानका लागि ओपनर अकरी निशिमुराले ५१ बलमा २ चौका प्रहार गर्दै २९ रन बनाइन्। हिनासे गोटोले १६ र अहिल्या चन्डेलले ‍११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    नेपालका लागि संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले एक/एक विकेट लिए।

    खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११४ रन बनाएको थियो।

    नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।

    त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्।

    बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।

     लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको थियो।

    सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।