दमौली । नेपाली कांग्रेस तनहुँमा रिक्त रहेको महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि सर्वसम्मत बनाउन पहल गरिने भएको छ । रिक्त तीन महाधिवेशन प्रतिनिधिका लागि १६ जनाको मनोनयन भएसँगै सर्वसम्मतका लागि पहल गर्न लागिएको हो ।
तनहुँ क्षेत्र नम्बर १ मा एक जनाका लागि ६ र क्षेत्र नम्बर २ मा दुई जनाका लागि दश जनाको उम्मेदवारी दर्ता भएको छ । महाधिवेशन प्रतिनिधि चयन भएपछि महासमिति सदस्य चयन गरिनेछ । महासमिति सदस्य क्षेत्र नम्बर १ मा एक र २ मा दुई रिक्त छ ।
कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले उम्मेदवारसँग मंगलबार दिउँसो छलफल गरिने जानकारी दिए । ‘सर्वसम्मतका लागि पार्टीका तर्फबाट पहिल गरिनेछ,’ उनले भने ।
सहमति नभए बुधबार मतदानको कार्य तालिका रहेको छ ।
क्षेत्र नम्बर १ को एक महाधिवेशन प्रतिनिधि (जनजाति) तर्फ अशोक गुरुङ, राजकुमार श्रेष्ठ, प्रतापसिं गुरुङ, गलबहादुर गुरुङ, लेखबहादुर राना र बैंशबहादुर गुरुङले मनोनयन गरेका छन् ।
क्षेत्र नम्बर २ को दुई महाधिवेशन प्रतिनिधि (प्रत्यक्ष खुला) तर्फ कृष्णराज पण्डित, रविचन्द्र पौडेल, बालकृष्ण घिमिरे, विष्णुहरि पाठक, मोहन गिरी, सन्तोष घिमिरे, विष्णु मल्ल, वीरबहादुर थापा मगर, माधव भट्टराई र श्रीराम आलेले मनोनयन गरेका छन् ।
महासमिति सदस्य पदको उम्मेदवारी दर्ता तथा निर्वाचन तालिका मङ्सिर ७ गते प्रकाशन गरिने जनाइएको छ ।