दमाैली । मङ्सिर महिनाको पहिलो मङ्गलबार तनहुँको प्रसिद्ध थानीमाइ मन्दिरमा ३६ फूलको डोली भित्रिएको छ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित मन्दिरमा आज ३६ फूलको डोली भित्रिएको हो ।
त्यसक्रममा तीन हजार दुई सय ४० भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । उनका अनुसार सोमबार तीन सय पाँच जनाले जागाराम बसेर बत्ती बालेका थिए ।
फूलको डोली भित्र्याउन तनहुँ, कास्की, लमजुङ, गोरखा लगायतका ठाउँबाट सर्वसाधारण आएको अध्यक्ष थापाको भनाइ छ । उनले भने, “मन्दिरमा विशेषगरी कात्तिक र मङ्सिरको मङ्गलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कात्तिकमा दसैं र तिहार पर्दा कात्तिकमा कम डोली भित्रियो ।” उहाँका अनुसार मन्दिरमा कात्तिकको मङ्गलबार एक सय ६१ फूलको डोली भित्रिएको थियो ।
सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।
प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।
भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ
समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।
विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाई छ ।