आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८०, शुक्रबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ । आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो ।   
      
    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति भएको भन्दै उपकरण अभावका कारण सेवा सञ्चालनमा समस्या भइरहेको जानकारी दिए । “अस्पतालसँग तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न जनशक्ति तयारी अवस्थामा छन्”, उनले भने, “उपकरण अभावले सेवा सञ्चालन गर्न सकिरहेका छैनाैँ ।”   
      
    चुमानका अनुसार अस्पतालमा एपेन्डिक्स, हाइड्रोसिल, हर्निया र प्रसूतिको शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । चार वटा शल्यक्रिया सेवा सञ्चालनका लागि रू एक करोड बराबरको उपकरण आवश्यक पर्ने उनको भनाइ थियो । चुमानले भने, “शल्यक्रिया थिएटर र आवश्यक उपकरण व्यवस्थापन हुन सकिरहेको छैन । यसका लागि सरकारको ध्यानाकर्षण गराएका छाैँ ।”   
      
    गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको थियो । एक वर्ष पुगेको अवसरमा अस्पतालको गत यही मङ्सिर १ गते उद्घाटन गरिएको थियो ।   
      
      
    “गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो”, चुमानले भने”, “वडा कार्यालय तथा गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएका हौँ । पहिलाको स्वास्थ्य चौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छाैँ । इलाका वनको भवनलाई ल्याब बनाएका छौँ । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छाैँ ।” अस्पतालमा निकट भविष्यमा डायलायसिस सेवासमेत सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए ।   
      
    डायलायसिस सेवाका लागि तीन वटा उपकरण आइसकेको अध्यक्ष चुमानले जानकारी दिए । “पाँच वटा उपकरण भए मात्रै एउटा युनिट मान्ने र सरकारले व्यवस्थापन गर्ने निःशुल्क उपचार सुरु गर्न सकिने रहेछ । तीन वटा डायलायसिस उपकरण व्यवस्थापन भएको छ । बाँकी व्यवस्थापन गर्दैछौँ”, उनले भने ।   
      
    अस्पताल सञ्चालनका लागि गाउँपालिका अप्ठ्यारो घडीमा रहेको बताउँदै अस्पताललाई दिगो बनाउने सपना रहेको चुमानको भनाइ छ ।   
      
    गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको भन्दै चुमानले अस्पतालबाट दिइने सेवालाई दिगो र गुणस्तरीय बनाउने लक्ष्य रहेको बताए । उनका अनुसार आँबुखैरेनी–१ स्थित सार्वजनिक र मित्रता माध्यमिक विद्यालयकोसमेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने छ ।   
      
    चुमानले भने, “तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमि दूरीमा एउटा पनि सरकारी अस्पताल छैनन् । कुनै दुर्घटना भयो भने ज्यान बचाउन चितवन वा काठमाडौँ दौडिनुपर्छ । छिमेकी पालिकासँग अनुरोध गरेका छौँ, एउटा ट्रमा सेन्टर बनाऔँ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सके धेरै जनाको ज्यान बचाउन सकिन्छ ।”   
      
    अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, शहीद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक एमडिजीपी, तीन मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।   
      
    अस्पतालमा एक्सरे सेवासमेत सञ्चालनको तयारी गरिएको छ । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौँडाबाट पाँच सय एमए एक्सरे मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिए । अस्पतालमा एक्सरे मेसिन नहुँदा यस क्षेत्रका नागरिक सेवा लिनका लागि चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त छिमेकी जिल्ला गोरखाका केही पालिकाका सर्वसाधारणले सहज रुपमा सेवा पाउने छन् ।   
    —