दमौली । व्यास नगरपालिकाले मंगलबार आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन् ।
सहिद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आज आयोजित अल्ट्रा म्याराथनको उपाधि जर्सी नम्बर ५० का खड्काले जितेका हुन् ।
चवालीस किलोमिटर दूरीको म्याराथन तीन घण्टा १८ सेकेण्डमा पूरा गर्दै खड्काले उपाधि जित्नुभएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले वर्चस्व कायम गरेका छन् । प्रतियोगितामा बैतडीका मोहनदेव जोशी द्वितीय भए । उनले उक्त दूरी तीन घण्टा दुई मिनेट ३३ सेकेण्डमा पूरा गरे । नेपाली सेनाका करण रावत तृतीय हुँदा उहाँले उक्त दूरी तीन घण्टा १० मिनेट ३० सेकेण्डमा पूरा गरे ।
त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्बा चौथो, त्रिभुवन आर्मीकै प्रताप खड्का पाँचौँ, सोलुखुम्बुका अर्जुन राई छैटौँ र त्रिभुवन आर्मी क्लवका तिलक सुनुवार सातौँ भएका छन् । उनीहरुले उक्त दूरी क्रमशः तीन घण्टा १७ मिनेट २४ सेकेण्ड, तीन घण्टा १९ मिनेट ३० सेकेण्ड, तीन घण्टा २१ मिनेट तीन सेकेण्ड र तीन घण्टा २४ मिनेट ४६ सेकेण्डमा पूरा गर्नुभएको युवा तथा खेलकुद शाखा प्रमुख नवीन पराजुलीले जानकारी दिनुभयो । म्याराथनमा दुई विदेशीसहित एक सय १७ धावकको सहभागिता थियो ।
अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । विजेतालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले पुरस्कार वितरण गरे ।
व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेँसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो ।
–––