व्यवसायिक तथा सीप विकास केन्द्रद्वारा मन्टेश्वरी तालिम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यवसायिक तथा सीप विकास केन्द्रद्वारा मन्टेश्वरी तालिम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८०, आईतवार

    भिमाद । जनज्योति क्याम्पस भिमादमा गत मंसिर २६ गतेबाट सञ्चालित तीन महिना (३९० घण्टे) मन्टेश्वरी तालिम सम्पन्न भएको छ । व्यवसायिक तथा सीप विकास केन्द्र पोखराको आयोजना र भिमाद नगरपालिकाको समन्वयमा मन्टेश्वरी तालिम आयोजना गरिएको हो ।

    तालिमको समापन सत्रमा बोल्दै भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले तालिमले प्रशिक्षार्थीलाई धेरै सिर्जनशील बनाएको बताएकी छन् । उनले मन्टेश्वरी तालिम बालबालिकासँग सम्बन्धित हुने भएकाले बालबालिकामा सकारात्मक सोच विकास गर्नु आफैमा चुनौती भएकाले सन्तुलन कायम गर्दै बाल मनोवैज्ञानिक ढंग र सामाजिक तथा व्यवहारिक मूल्य मान्यताका आधारमा ज्ञान प्रदान गर्नु आजको आवश्यकता रहेको बताइन् ।

    जनज्योति क्याम्पस भिमादका प्रमुख केशवराज काफ्लेले तालिममा लिएको सीपले मात्र तालिम सम्पन्न नहुने बताएका छन् । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सके मात्र सिकाइले पूर्णता पाउने बताए।

    तालिमकी प्रशिक्षक कुसुम रखाली थापाले बालबालिकालाई अध्यापन कला विकास गर्न शिक्षक स्वयम् अग्रसर र सिर्जनशील हुनुपर्ने बताइन् ।

    मन्टेश्वरी तालिमले बालबालिकालाई कसरी अध्यापन गराउने, शौक्षिक सामग्रीको प्रयोग कसरी गर्ने/गराउने, के-के समाग्री आवश्यकता पर्छ, कुन अक्षर कुन सामग्रीको रुपमा प्रस्तुत गर्ने र बालबालिकालाई कसरी अध्यापन गराउने विषयमा धेरै कुरा सिक्न पाएको प्रशिक्षार्थीहरुले बताएका थिए ।

    व्यावसायिक तालिम तथा सीप विकास केन्द्र पोखराका प्रमुख लक्ष्मीभद्र वाग्लेले बेरोजगार युवाहरुलाई सिर्जनशील र रोजगारको अवसर सिर्जना गर्ने उद्धेश्यले तालिमको आयोजना गरेको बताए ।

    वाग्लेले व्यवसायिक तथा सीप विकास केन्द्र पोखराले आगामी दिनमा समेत यस्तै व्यावहारिक तालिमको आयोजना गर्दै युवाहरुलाई स्वरोजगार बनाउँदै लैजाने योजनामा रहेको बताए ।