चुँदीखोला अतिक्रमणको चपेटामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुँदीखोला अतिक्रमणको चपेटामा

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८०, सोमबार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ । डुम्रे बजारबाट नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम रोकिएको छैन ।

    स्थानीयले दुवै तर्फबाट चुँदीखोला मिचेर यसलाई साँघुरो बनाउँदै लगेका छन् । दर्जनभन्दा बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ । स्थानीयवासीले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा अर्काे क्षेत्रतिर कटान गर्न सक्ने जोखिम बढेको छ । ती घरले प्रयोग गर्ने फोहर पानी र ढलसमेत खोलामा मिसाइदिँदा खोला प्रदूषित बन्दै गएको छ ।

    खोलाको किनारबाट बन्दीपुर गाउँपालिकातर्फ करिब पन्ध्र वटा पक्की घरहरु निर्माण गरी होटल तथा विभिन्न व्यवसायहरू सञ्चालन गरिएको छ भने भानु नगरपालिका तर्फ पनि चुँदीखोला अतिक्रमण भएको छ ।

    डुम्रेबजारतर्फ बजार विस्तार हुने ठाउँको अभाव भएपछि पारिपट्टि भानु नगरपालिकातर्फ बस्ती विस्तार हुन थालेको छ । सो क्षेत्रबाट पनि चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ ।

    मापदण्ड विपरित चुँदी खोलाबाट पुरानो पर्खालभन्दा करिब सात÷आठ फिट खोलातर्फबाट करिब ५० मिटरको पक्की पर्खाल धमाधम निर्माण भएको छ । स्थानीय सूर्यकुमार श्रेष्ठले करिब तीन रोपनी जग्गाको क्षेत्रफलमा चुँदी खोलाबाटै मापदण्ड विपरित ठेक्कै दिएर पर्खाल लगाइरहेका छन् ।

    भानुु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस विषयमा स्थलगत निरीक्षण गरिने र सार्वजनिक जग्गा मिचिएको पाइए कारवाही गरिने बताए।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ सहितको टोलीले सो स्थानमा अनुगमन गरेको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाभित्र सार्वजनिक जग्गामा बनेका संरचनाका विषययमा कार्यपालिका बैठक बसेर निर्णय लिने बताए ।

    सार्वजनिक जग्गामा घर नबनाउन गाउँपालिकाले पटक–पटक सूचना जारी गरेपनि अटेर गरेर संरचना बनाउने क्रम नरोकिएको उनकाे भनाइ छ । केही समय अगाडि जग्गाधनी श्रेष्ठसँग कुरा गर्दा पहिला भएकै स्थानबाट पर्खाल लगाउने कुरा भएको तर पछि हेर्दा खोला अतिक्रमण भएको पाइएको वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।

    ढल र फोहर बिसर्जन स्थल

    चुँदीखोला अतिक्रमणको चपेटामा त परेको छ नै बजार क्षेत्रको ढल र फोहरले दिनहुँ दुर्गन्धित पनि बन्दै गएको छ । बजार क्षेत्रको ढललाई पुल नजिकबाट खोलामा मिसाइएको छ।

    वर्षात्को समयमा खोला केही ठूलो हुने भएपनि हिउँदको समयमा भने पानी एकदमै कम हुने गर्दछ । भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाले फोहरमैला व्यवस्थापन गरेको बताए पनि स्थानीय व्यापारी र सर्वसाधारणले चुँदीखोलामा फोहर फाल्न छाडेका छैनन् ।

    बजार क्षेत्रको फोहरलाई समेत खोलामा फाल्ने गर्दा खोला र वरपरको सौन्दर्य समेत गुमेको छ । बजार विस्तार हुँदै जाँदा फोहरको मात्रा पनि बढ्दै गएको छ र त्यसको मार चुँदी खोलामाथि परेको छ ।