विश्व बैङ्कको सहयोगमा दुलेगौडा-लिलाचोक सडक स्तरोन्नति सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व बैङ्कको सहयोगमा दुलेगौडा-लिलाचोक सडक स्तरोन्नति सुरु

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८१, मंगलवार

    दमौली । विश्व बैङ्कको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लामागाउँ मोटरमार्ग अन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड स्तरोन्नति सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले उक्त खण्डको स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् ।

    नगरप्रमुख पण्डितले तोकिएकै समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको यस सडक उक्त खण्ड कालोपत्रपछि यस भेगका जनतालाई आवतजावतमा सहयोग पुग्ने पण्डितको भनाइ थियो ।

    नगरपालिकाकै हालसम्म ठूलो योजना उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले गत चैत २५ गते सम्झौता गरेको थियो । विश्व बैङ्कको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित शहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७.१ किलोमिटर दूरी कालोपत्रका लागि निर्माण कम्पनी बानियाँ निर्माण सेवा हेटौडासँग सम्झौता भएर काम अगाडी बढेको नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले जानकारी दिए । उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ ।

    भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी नगरपालिका–८, ९ र १२ वडालाई जोड्छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । उनले भने, “उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ । अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ ।”

    दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५.५ मिटर कालोप, कालोपत्रको दुवै छेउमा १÷१ मिटरको नाला निर्माण हुनेछ ।

    शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ ।