काठमाडौ । स्पेनिस क्लब रियल म्याड्रिडले युरोपियन क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको अर्को उपाधि जितेको छ । बेलायतको लन्डनस्थित वेम्बली रंशशालामा शनिबार राति भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
यससँगै रियलले च्याम्पियन्स लिगको १५ औँ उपाधि जित्न सफल भएको छ । उसको छेउछाउ कुनै क्लब पुग्न सकेका छैनन् । रियलपछि इटालियन क्लब एसी मिलानले ७ वटा उपाधि जितेको छ । यो रियलले जितेकोको आधाभन्दा कम हो ।
शनिबार राति रियललाई कीर्तिमानी १५ औँ उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।