थर्पु युवा क्लवले जेठ २५ देखि प्रथम म्याग्दे महोत्सव गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    थर्पु युवा क्लवले जेठ २५ देखि प्रथम म्याग्दे महोत्सव गर्ने

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८१, आईतवार

    दमौली । म्याग्दे गाउँपालिका-४ थर्पुस्थित थर्पु युवा क्लवको आयोजनामा जेठ २५ देखि असार २ गतेसम्म प्रथम म्याग्दे महोत्सव हुने भएको छ । यस क्षेत्रको आर्थिक कारोबारलाई चलायमान गराउन, समग्र म्याग्देको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्ने उद्धेश्य सहित क्लवले महोत्सव गर्न लागेको हो ।

    म्याग्देको प्रमुख व्यापारिक केन्द्र रहेको थर्पु बजारको सर्वाङ्गीण विकास महोत्सवको मुख्य लक्ष्य रहेको क्लवका अध्यक्ष नवराज हमालले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । आर्थिक मन्दीले शिथिल भएकाे व्यवसायलाई चलायमान बनाउन, स्थानीय कृषि उत्पादन लगायत सम्पूर्णलाई व्यापार व्यवस्थापन गर्न, म्याग्देकाे प्रमुख व्यापारिक क्षेत्रकाे रुपमा स्थापित गर्न, स्थानीय कलाकारकाे प्रतिभा प्रस्फूटन गर्न महाेत्सव आयाेजना गरिएकाे उनकाे भनाइ छ ।

    महोत्सवको तयारी तीव्र गतिमा अगाडी बढाइएको महोत्सव मूल संयोजक गौरवराज रानाले जानकारी दिए । महोत्सवमा एक सय स्टल रहने र दश वटा स्टल कृषि तथा हस्तकलालाई निशुल्क उपलब्ध गराइने उनले बताए ।

    ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवबाट आम्दानी भएको दुई प्रतिशत शिक्षा, स्वास्थ्यमा लगानी गरिने रानाको भनाइ छ ।

    महोत्सवका अवसरमा विद्यालय स्तरीय र एकल खुल्ला नृत्य कार्यक्रम समेत हुनेछ । नृत्यमा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।