सूर्य नेपालद्वारा शुक्लागण्डकी नगरपालिकालाई बारुणयन्त्र हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सूर्य नेपालद्वारा शुक्लागण्डकी नगरपालिकालाई बारुणयन्त्र हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८१, आईतवार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले बारुणयन्त्र हस्तान्तरण गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत नगरपालिकालाई आइतबार एक कार्यक्रमका बीच बारुणयन्त्र हस्तान्तरण गरिएको हो ।

    नगर क्षेत्रभित्र हुन सक्ने सम्भावित आगलागीका घटना न्यूनीकरणका लागि नगरपालिकाले कम्पनीसँग बारुणयन्त्र माग गरेको थियो । सबै प्रक्रिया पूरा गरेर सूर्य नेपालले आइतबार नगरप्रमुख कृष्णराज पण्डितलाई बारुणयन्त्रको साँचो हस्तान्तरण गरेको छ ।

    नगरप्रमुख पण्डितले भने, “बढ्दो शहरीकरणसँगै नगर क्षेत्रभित्र आगलागीका घटना नियन्त्रणका लागि बारुणयन्त्र थिएन । बारुणयन्त्र प्राप्त गरेपछि केही घटना घटिहाल्दा तत्कालै नियन्त्रणमा सहयोग पुग्नेछ ।”

    चार हजार लिटर क्षमताको बारुणयन्त्र सञ्चालनका लागि नगरका चालक र नगर प्रहरीलाई तालिम दिइएको नगरपालिकाले जनाएकाे छ ।

    सूर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले बारुणयन्त्रबाट शुक्लागण्डकी नगरपालिका लगायत यस आसपासका क्षेत्रले उचित लाभ लिन सक्ने तथा शुक्लागण्डकी नगरपालिकाबाट बारुणयन्त्रको आवश्यक हेरचाह, संरक्षण, मर्मत संभार तथा यथोचित उपयोग हुने बताए ।

    रु ६० लाख मूल्यको उक्त बारुणयन्त्रको पानी भण्डारण क्षमता चार हजार लिटर रहेको छ । सूर्य नेपालका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले कम्पनीले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत उक्त सहयोग गरेको जानकारी दिए । उनले भने, “कम्पनीले शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । यो सहयोग त्यसैको निरन्तरता हो ।”

    शुक्लागण्डकी लगायत यस वरपरका पालिका भिमाद, म्याग्दे लगायतका क्षेत्रहरुमा समेत बारुणयन्त्र नभएको सन्दर्भमा शुक्लागण्डकी नगरपालिको अनुरोधमा सूर्य नेपाल प्रालिले बारुणयन्त्र खरिद खरिद गरी हस्तान्तरण गरिएको हो ।

    कम्पनीले यस क्षेत्रमा विद्यालय निर्माण, सडक, बाटोघाटो, खानेपानी, एम्बुलेन्स, स्वास्थ्य शिविर, नदी नियन्त्रण, शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

    कम्पनीले गत असार ८ गते मात्रै दमौली अस्पताललाई दुई थान डायलासिस उपकरण हस्तान्तरण गरेको थियो । उक्त उपकरणको मूल्य करिब रु २८ लाख रहेको छ ।