यसरी पत्ता लगायो प्रहरीले तनहुँ भिमादकी विकको हत्याका अभियुक्तलाई !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    यसरी पत्ता लगायो प्रहरीले तनहुँ भिमादकी विकको हत्याका अभियुक्तलाई !

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    पोखरा । पोखराको नागढुंगामा रहेको युनिक होटलको गत मङ्सिर ५ गते तनहुँकी एक महिला मृत फेला परिन् । एक पुरुषसँगै उक्त होटलको कोठा नम्बर २०२ मा प्रवेश गरेकी महिला मृत फेला पर्दा सँगै गएका पुरुष भने फेला परेनन् ।

    पोस्टमार्टमपछि तनहुँ भिमादकी ३८ वर्षीया सुकु विकको हत्या भएको पुष्टि भयो । त्यसपछि प्रहरी अनुसन्धानमा लाग्यो । होटेलमा न सीसीटीभी नै थियो न त ती पुरुषले नाम नै टिपाएका थिए । जसले गर्दा प्रहरीलाई अनुसन्धान गर्न कठिन भयो ।

    होटेलका सञ्चालकलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लियो, तर केही खुल्न नसकेपछि उनीहरूलाई छोड्न बाध्य भयो । मृतकको परिवारबाट उजुरी परेपछि प्रहरीलाई झनै दबाब बढ्यो, तर प्रहरीले हत्याको क्लुसमेत पत्ता लगाउन सकेन ।

    प्रारम्भिक अनुसन्धानको क्रममा परिवारले मृतकले लगाएको सुन र मोबाइलसमेत हराएको जाहेरी दिएपछि प्रहरी अनुसन्धान मोबाइलतर्फ तेर्सियो । प्रहरीले मृतकको मोबाइल (आइफोन १३ प्रो क्याक्स)को फोन लोकेसन खोजी गर्न थाल्यो । खोजतलास गर्दा उक्त मोबाइल महोत्तरी बर्दिबास नगरपालिका- ७ का २६ वर्षीय राजेश बुढाथोकीसँग रहेको खुल्यो ।

    केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले राजेशलाई नियन्त्रणमा लियो । राजेशलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनले बागलुङ गलकोट नगरपालिका- ९ का २९ वर्षीय सञ्जय विकबाट ४० हजार ५०० मा किनेको खुल्यो ।

    ‘अनुसन्धान गर्ने क्रममा राजेश बुढाथोकीलाई सञ्जयले ४० हजार ५०० रुपैयाँमा बेचेको खुल्न आयो । त्यहाँबाट अनुसन्धानको मेन लिंक भयो’, कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने ।

    त्यसपछि प्रहरीले सञ्जयमाथि अनुसन्धान अगाडि बढायो । सुकु विकलाई होटेल युनिकको कोठा नम्बर २०२ मा लग्ने व्यक्ति र राजेश बुढाथोकीलाई मोबाइल बिक्री गर्ने व्यक्ति सञ्जय नै रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । सोहीअनुसार प्रहरीले सञ्जयको कोठामा खानतलासी गर्दा होटेल जाँदा लगाएको द नर्थ फेस लेखेको निलो रङको ज्याकेट र पोको कम्पनीको मोबाइल फोन बरामद गर्‍यो ।

    मोबाइलमा मृतकको मोबाइल नम्बर स्क्रिन सट गरी राखिएको तस्बिर र मृतकको मोबाइल समाई फोटो खिचेको तस्बिर प्रहरीले फेला पार्‍यो । मृतकको सुनको सिक्री र मुन्द्रासमेत सञ्जयले बिक्री गरेको खुल्न पुग्यो । होटेल सञ्चालक तथा आफन्तबाट समेत मृतकसँग आएको व्यक्ति सञ्जय नै भएको भन्ने सनाखतपछि सञ्जय नै हत्यारा रहेको निष्कर्षमा प्रहरी पुग्यो ।

    जिल्ला अदालत कास्कीबाट सञ्जयको नाममा गत पुस १ गते पक्राउ पुर्जी पनि जारी भयो । घटना घट्नुअघि सञ्जय पोखरा महानगरपालिका- ७ घारीपाटनमा परिवारसहित डेरा लिएर बस्थे, तर घटनापछि उनी श्रीमती र छोरालाई छोडी फरार भए । प्रहरीका अनुसार केही समय उनी भारतमा समेत गएका थिए । प्रहरीले अनुसन्धानले नवलपुरको गैंडाकोट नगरपालिका- १२ हर्कपुरमा डेरा लिई लुकिछिपी बसेको फेला पर्‍यो । त्यसपछि प्रहरीले घटना घटेको ८ महिनापछि साउन २ गते उनको डेराबाट पक्राउ गर्न सफल भयो ।

    उनलाई शुक्रबार कास्की प्रहरीले सार्वजनिक गरेको छ । आइफोन र सिक्रीको लोभले महिलाको हत्या भएको प्रहरीको अनुमान छ । कास्की प्रहरीका प्रमुख एसपी थापाले लुटपाटको उद्देश्यले हत्या गरेको अनुमान रहेको बताए ।

    थापा भन्छन्, ‘होटलको कोठासम्म यिनीहरू पुग्छन् । होटेलमा पुगिसकेपछि सञ्जयले ठूलै सिक्री देख्यो । मोबाइल पनि आइफोन १३ प्रो म्याक्स देख्यो । ऊ त आपराधिक मनोवृत्तिको मान्छे, सामान्य मजदुरी गर्ने मान्छेले दुईतीन लाखको सामान देख्यो । लोभिएर हत्या भएको हुनसक्छ ।’

    एसपी थापाका अनुसार साथीमार्फत मृतक र सञ्जयको चिनजान भएको थियो । चिनजानको छोटो समयमै उनीहरूको भेट भएको खुलेको थापाले बताए । सिरानीले नाक मुख थुनेर घाँटी थिचेर हत्या गरेको पोस्टमार्टम रिपोर्टबाट देखिएको उनको भनाइ छ ।

    सञ्जय यसअघि पनि आपराधिक घटनामा संलग्न भएको पाइएको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले २०७२ असार १९ मा चोरी कसुर र २०७३ भदौ १ मा वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको थियो । (नेपाल प्रेसबाट)