भानुका मिर्गाैला पीडितलाई रु साढे तीन लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका मिर्गाैला पीडितलाई रु साढे तीन लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    दमौली । तनहुँको भानु नगरपालिका–२ निवासी मिर्गौला पीडित राजेश मजकोटीको उपचारका लागि करिब साढे तीन लाख सहयोग हस्तान्तरण गरिएको छ ।

    दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार गर्दै आएका  मजकोटीको उपचारका लागि नेकपा (एमाले) भानु नगर कमिटीको सक्रियतामा रु तीन लाख ४९ हजार सात सय ६५ हस्तान्तरण गरिएको छ ।

     सोही वडा घर भई हाल अमेरिकामा रहेका केशवराज लोहनीको सक्रियतामा ६० जना नेपालीबाट सङ्कलित रु तीन लाख १८ हजार २ सय ५० र नगर कमिटीले स्थानीय स्तरमा सङ्कलन गरेको रु ३१ हजार पाँच सय १५ समेत गरी रु तीन लाख ४९ हजार सात सय ६५ पीडितका श्रीमती सरिता मजकोटीलाई हस्तान्तरण गरिएको नेकपा (एमाले) भानु नगर कमिटी अध्यक्ष शङ्कर रानाभाटले जानकारी दिए ।

     ३९ वर्षीय मजकोटी दुई वर्षदेखि दुवै मिर्गौला फेल भएर उपचार गराइरहेका छन् । उनको दमौलीस्थित दमौली अस्पतालमा डायलासिस भइरहेको छ । पीडितका श्रीमती सरिताले भनिन्, “काठमाडौं, पोखरा र चितवनका अधिकांश अस्पताल चहारे । पैसा सकियो रोग निको भएन । सहयोग पाए उपचार गरेर श्रीमान् बचाउने रहर छ ।” 

    मिर्गौला पीडितको डायलासिस गर्दा शुल्क नलाग्ने भनेपनि महङ्गो मूल्यमा सुई र औषधी किन्नुपरेको उनको भनाई छ  । उनले भनिन्, “सरकारले निःशुल्क डायलासिस हुन्छ भनेको छ । औषधि र इन्जेक्सन किन्दा हप्तामा रु चार हजार बढी खर्च हुने गरेको छ ।” परिवारमा आम्दानीको कुनै स्रोत नभएकाले डायलसिस गर्न पनि गाह्रो परेको उनको भनाइ छ ।