विद्युत अवरुद्ध भएपछि प्रशासन कार्यालयमा केही समय सेवा ठप्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्युत अवरुद्ध भएपछि प्रशासन कार्यालयमा केही समय सेवा ठप्प

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८१, बुधबार

    दमाैली । दमौली बजारमा विद्युत अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा केही समय सेवा ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले दमौलीस्थित सवस्टेशन मर्मतका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत कटौती गरेपछि प्रशासन कार्यालयमा सेवा ठप्प भएको हो ।

    राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि आएका सेवाग्राही १२ बजेदेखि विद्युत कुरेर बसिरहेका थिए । प्रशासन कार्यालयमा रहेको व्याकअपको ब्याट्री पड्किएपछि समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए।

    उनले भने, “दुई दिन पहिला ब्याट्री पड्किएपछि विद्युत अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या भएको हाे । ” विद्युत अवरुद्ध हुँदा सेवा प्रभावित हुन सक्ने भएपछि प्रशासन कार्यालयले चार वटा नयाँ ब्याट्री खरिद गरिसकेको सहायक प्रजिअ भण्डारीले बताए।