राजापानी सिद्धेश्वर महादेव ओझेलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०८१, आईतवार

    दमाैली । धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव मन्दिर ओझेलमा परेको छ ।

    सदरमुकाम दमौलीबाट कलेस्ती हुँदै १६ किलोमिटर दूरीमा अवस्थित उक्त ठाउँ प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । यहाँ हरिबोधनी एकादशी र शिवरात्रीको बेला विशेष मेला लाग्ने गर्दछ ।

    स्थानीय बसुन्धरा घर्तीले यस ठाउँलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउन सरोकारवाला निकाय सहित स्थानीयवासी कस्सिनुपर्ने बताए। उनले भने, “धेरै वर्ष पहिला यो मन्दिर पत्ता लागेको हो । यसको विशेष महत्व छ । यसको प्रचारप्रसार गर्दै यहाँ पूर्वाधार निर्माणतर्फ स्थानीय तहले पनि चासो दिनुपर्छ ।”

    सदरमुकाम नजिकै रहेर पनि यस ठाउँको सोचे अनुरुपको विकास हुन नसकेको राजापानी सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्व कोषाध्यक्ष बलबहादुर भुजेलले जानकारी दिए।

    मन्दिरमा भाकल (कामना) गर्दा आफ्ना मनोकाङ्क्षा पुरा हुने विश्वास रहँदै आएको समितिका अध्यक्ष होमबहादुर गोदारले बताए । उनले भने, “मन्दिरको प्रचारप्रसारका लागि हामी क्रियाशील छौ । यसको प्रबद्र्धनका लागि स्थानीय तहलाई पनि अनुरोध गरेका छौ ।”

    उनका अनुसार दुःखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेउ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ ।

    कुनै समय गोपाल घर्ती भन्ने व्यक्तिले राति सपनामा हालको मन्दिर भएको ठाउँमा शिलाबाट दुध आएको देखि भोलिपल्ट गएर उक्त शिला देउराली भन्ने ठाउँमा लैजादै गर्दा उनी बिरामी भइ सो शिला त्यही ठाउँमा छाडेर गएका पछि हेर्दा शिला पुन पहिलेकै उठाएको ठाउँमा नै भेटिएको भन्ने किम्बदन्ती पाइन्छ ।