उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघले गर्‍यो सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघले गर्‍यो सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८१, शनिबार

    काठमाडौ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०/८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । 
    परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको छ । होटलका कार्यकारी निर्देशक सुरेशराज श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन् । होटलले यसभन्दा अगाडि ५ पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल सरकारबाट सम्मानित भइसकेको छ ।

    परिसंघबाट सम्मानित हुने करतादाहरूमा एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्यात तर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जली आयुर्वेद रहेका छन् । 

    यस्तै बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैङ्क, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज र वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट सम्मानित भएका हुन् । 

    यस्तै ऊर्जा क्षेत्रतर्फ उच्च कर तिर्ने भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित भए । 

    यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट, ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज तथा विशेष उद्योगतर्फ वरुण वेभरेजलाई परिसंघले सम्मान गरेको थियो । 

    परिसंघका तर्फबाट अध्यक्ष राजेश अग्रवालले करदाता उद्योग ततथा व्यक्तिहरूका प्रतिनिधिहरूलाई सम्मानपत्र दिएका थिए ।
    सम्मान कार्यक्रमपछिको अन्तक्र्रियामा मुलुकले पर्यटन क्षेत्रबाट धेरै लाभ लिइरहेको उद्योगी तथा व्यवसायीहरूले बताएका थिए  । उनीहरूले पर्यटन क्षेत्रको विकासका लागि सरकारले थप पहलकदमी लिनुपर्नेमा समेत जोड दिएका थिए ।

    अन्तक्र्रियामा नेपाल मेडिकल कलेजको हब बन्ने सम्भावना रहेको तर सरकारको कसिलो नीतिले गाह्रो बनाएको व्यवसायीहरूले बताए ।  

    कार्यक्रममा म्यारियट होटलका सञ्चालक शशीकान्त अग्रवालले राज्यले अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च कटौति गर्नुपर्ने बताए । हाम्रोभन्दा राष्ट्रिय सुरक्षा संकटमा रहेको पाकिस्तानमा भन्दा धेरै सेना नेपालमा हुनु अनावश्यक भएको उनको तर्क छ ।  

    नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले नेपाल ऋणहरूको जालोमा पर्ने खतरा रहेको औंल्याए । अहिले ब्याजदर घट्दा पनि निजी क्षेत्रले कर्जा लिन नसकेको बताउँदै उनले यस्तो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्रबीच गहन छलफल आवश्यक रहेको बताए । 

    अहिले मौद्रिक नीतिले राम्रो काम गरेर अर्थतन्त्रको बाह्य अवस्था बलियो बनेपनि आन्तरिक अर्थतन्त्रमा सरकारले काम गर्न नसक्दा कमजोर भएको समेत बताए । 

    परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले दिएका सुझाव करिब ४५ प्रतिशत सरकारले बजेट भाषणमा समावेश गरेको तर कार्यान्वयनमा भने अझै समस्या रहेकाले त्यसको मारमा व्यवसायीहरू परेको बताए ।