२०८४ मा माओवादी एक्लै निर्वाचनमा जान्छ : उपमहासचिव पुन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २०८४ मा माओवादी एक्लै निर्वाचनमा जान्छ : उपमहासचिव पुन

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०८१, सोमबार

    दमौली । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले आर्थिक समृद्धि हासिल गर्नका लागि सुशासन महत्वपूर्ण भएको उल्लेख गरे ।

    आर्थिक समृद्धिलाई लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो । उपमहासचिव पुनले माओवादी पार्टी अहिले सरकार फेरबदलमा नरहेको बताउँदै थपे, “सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो । सरकारले जनताका पक्षमा काम गर्नुपर्छ, सुशासनका पक्षमा काम गर्नुपर्छ । त्यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ ।”

    उपमहासचिव पुनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताउँदै यसको विकल्प नभएको चर्चा गरे । तर वर्तमान शासन व्यवस्थाको बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेको उहाँको भनाइ थियो । नेकपा (माओवादी) व्यवस्था सुधारको पक्ष लिएर आगामी निर्वाचनमा होमिने बताउँदै पुनले भने, “व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही एजेण्डा लिएर जनतामाझ जानेछौ । जनताले खोजेको पनि यही हो ।”

    उपमहासचिव पुनले माओवादी अहिले सङ्गठन सुधारको अभियानमा लागिरहेको बताउँदै पालिका अधिवेशन भइरहेको जानकारी दिए । विगतमा सरकारमा हुँदा पार्टीका गतिविधि चलायमान भएकाले अहिले प्रमुख प्रतिपक्षीमा रहँदा पार्टीका कामलाई सुदृढ बनाइएको उनको भनाइ थियो ।

    माओवादी आगामी निर्वाचनमा एक्लै लड्ने गरी अगाडी बढेको बताउँदै त्यसको सन्देश उपनिर्वाचनले दिइसकेको उनले दावी गपे । उनले भने, “नेपालमा दुई दलीय शासन व्यवस्थाको प्रयास गरिएकामा त्यसलाई जनताले अस्वीकृत गरिसकेका छन् । माओवादी एक्लै निर्वाचनमा उभिन सक्ने गरी हामी लागिपरेका छौ ।”

    प्रेस सेन्टरका अध्यक्ष सन्त नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइराला, प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, जिल्ला अध्यक्ष ओमराज आले लगायत सहभागी थिए ।