दमाैली । भिमाद नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि भिमाद–६ स्थित जनज्योति माध्यमिक विद्यालयले जितेको छ । भिमाद रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा १५ पदक जित्दै जनज्योतिले उपाधि जितेको हो ।
जनज्योतिले आठ स्वर्ण, छ रजत र एक कास्य पदक प्राप्त गरेको छ । त्यस्तै भिमाद नगरपालिका–२ स्थित अरुणोदय माध्यमिक विद्यालय सात पदक सहित द्वितीय भएको छ । अरुणोदयले तीन स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको छ ।
सात पदक सहित भिमाद–३ स्थित बाल शैक्षणिक माध्यमिक विद्यालय तृतीय भएको छ । बाल शैक्षणिकले तीन स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको छ ।
विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले खेलकुदलाई विद्यालय स्तरदेखि नै सञ्चालन गरी दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।