थर्पु आधारभूत अस्पतालमा दन्त शिविर सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पु आधारभूत अस्पतालमा दन्त शिविर सुरु

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०८१, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु गरिएको छ । शनिबारमात्रै उद्घाटन भएको उक्त अस्पतालले आजदेखि दन्त शिविर सञ्चालन गरेको हो । दश शय्या क्षमताको अस्पतालको शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए ।

    दाँतका समस्या भएका सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्धेश्यसहित दन्त शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

    दन्त शिविरमा दाँत सम्बन्धी समस्या भएका नागरिकहरुको एक्सरे, दाँत सफा गर्ने, दात भर्ने, दाँत निकाल्ने, दाँतको जरैदेखिको उपचार, गिजाको उपचार लगायत दाँत रोग सम्बन्धी औषधी वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैह्रापाटन पोखराबीच गत मङ्सिर २० गते भएको सम्झौता अनुसार दन्त शिविर सञ्चालन गरिएको हो । शिविर पुस ४ गतेसम्म सञ्चालन हुनेछ ।

    शिविरको पहिलो दिन सोमबार वडा नम्बर १ र २, मङ्गलबार वडा नम्बर ३ र ४, बुधबार वडा नम्बर ५ र ६, बिहीबार वडा नम्बर ७ र शुक्रबार छुटेका सर्वसाधारणलाई सेवा प्रदान गरिनेछ ।

    पहिला आउने बिरामीलाई प्राथमिकता दिई एक दिनमा ६० जना दाँतका बिरामीलाई मात्र उपचार सेवा दिन सकिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।