दमौली । बन्दीपुर गाउँपालिका-६ खहरेस्थित मिलीजुली युवा क्लवले लोसारको अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिती आयोजना गर्ने भएको छ । क्लवले पुस १५ देखि सातौ मिलीजुली कप आयोजना गर्न लागेको हो ।
खेलकुदका माध्यमबाट पर्यटन प्रबर्धन गर्ने उद्धेश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष सिद्धान्त गर्जा मगरले जानकारी दिए । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने अनुमान गरिएको बताए । गत वर्ष आयोजित प्रतियोगितामा ४२ टिमको सहभागिता थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ६० हजार, तृतीय हुनेलाई रु ४० हजार र सान्त्वना हुनेलाई रु दश हजार नगद सहित ट्रफी प्रदान गरिनेछ ।
कार्यक्रम सम्पन्न गर्नका लागि करिब रु आठ लाख खर्च हुने र खर्चको व्यवस्थापन चन्दादाता र स्थानीय सरकारबाट गरिने उनको भनाइ छ ।
क्लवले प्रत्येक वर्ष आयोजना गरेको कार्यक्रमबाट हुने आम्दानी सोही वडाको सेतीगंगा आधारभूत विद्यालयको शैक्षिक उन्नयनमा खर्च गरिएको उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, तनहुँ भलिबल संघका अध्यक्ष पदम सुनार लगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।