दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँको निर्वाचनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुको पदस्थापन कार्यक्रमका लागि शुक्रबार यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य भण्डारीले पत्रकारिता क्षेत्रमा विश्वासको सङ्कट उत्पन्न भएको बताए ।
पूर्वमन्त्री भण्डारीले समग्र पत्रकारिता क्षेत्रमा अविश्वासको सङ्कट पैदा भएको बताउँदै भने, “ठूला सञ्चारगृहप्रति जनताको विश्वास घट्दो छ । यो चिन्ताको विषय हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतले पु¥याएको योगदान अतुलनीय छ । यो क्षेत्रमा विश्वास कायम राख्न सक्नुपर्छ ।” पत्रकारिता जगत कमजोर भए समग्र क्षेत्र कमजोर हुने भएकाले सत्य, तथ्य, निष्पक्ष रुपमा पत्रकारिता क्षेत्रले काम गर्नुपर्नेमा उनकाे भनाइ थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले राज्यको चौथो अङ्गको रुपमा रहेको प्रेस जगत निष्पक्ष हुनुपर्ने बताए। नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष प्रदीप काफ्ले र पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले तनहुँको पत्रकार महासङ्घ सधंै एकढिक्का भएकाले त्यो परम्परालाई कायम राख्न आग्रह गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष धनपति अधिकारीले नेपाल पत्रकार महासङ्घको संस्थागत विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि वर्तमान नेतृत्वले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा निवर्तमान अध्यक्ष उज्ज्वल पौडेलले नवनिर्वाचित अध्यक्ष अधिकारीलाई पदहस्तान्तरण गरेका थिए ।