काठमाडौ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी तत्काल छुट्न मुस्किल देखिएको छ ।
रविविरुद्ध कास्कीबाहेक अन्य ४ जिल्लामा समेत पक्राउ पुर्जी जारी भएकाले कास्कीमा धरौटी बुझाएर मात्र उनी रिहा हुने देखिन्न । काठमाडौं जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।
कास्कीको थुनछेक प्रक्रिया सकिएकाले सम्भवत: उनलाई काठमाडौं ल्याइने छ । काठमाडौं जिल्ला अदालतमा पनि उनको बयान र फेरि यस्तै थुनछेक बहस तथा आदेश हुनेछ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले यहाँ अनुसन्धान र मुद्दा चलेकोबारे कास्की प्रहरीलाई पत्राचार गरिसकेको बताए ।
‘हामीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोजन दर्ता गरिसकेका छौं, त्यसबारे पत्रमार्फत कास्की प्रहरीलाई जानकारी दिइसकिएको छ,’ रजौरेले लोकान्तरसँग भने ।
रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेका छन् ।
काठमाडौंमा मुद्दा दर्ता भइसकेकाले सबैभन्दा पहिला उनलाई काठमाडौं ल्याइने एक प्रहरी अधिकृतले बताए ।
‘काठमाडौंबाहेक अन्य जिल्लाले अभियोजन दर्ता नगरेकाले सम्भवत: काठमाडौं नै पहिला ल्याइने छ,’ एक उच्च प्रहरी अधिकृतले भने ।
कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीमा जम्मा भएको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा रविमाथि कास्की जिल्ला अदालतमा मुद्दा चलेको हो ।
त्यसैमा थुनछेक बहस पछि बिहीबार आदेश आएको हो ।
उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग समेत छ । मुद्दाको अन्तिम किनारा लाग्न बाँकी नै छ । (स्रोत : लोकान्तर डटकम)