दमाैली । नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) तनहँुको छैठौं साधारण सभा एवं अन्तराष्ट्रिय सम्मेलनका अनुभवहरु आदानप्रदान सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नेल्टा गण्डकी प्रदेशका सभापति कमलराज लम्सालले नेल्टाका गतिविधिहरु अंग्रेजी भाषा र साहित्यका शिक्षकहरुको पेशागत विकासका लागि समर्पित भएको बताउँदै सम्पूर्ण अंग्रेजी शिक्षकहरु यस संगठनमा आवद्ध हुुनुपर्नेमा जोड दिए ।
नेल्टाले विभिन्न अवसरहरुको सिर्जना गर्ने बताउँदै प्रदेश सभापति लम्सालले नेल्टाको सहयोगमा आफूले अघिल्लो महिनामा जापानमा आयोजित अंग्रेजी शिक्षकहरुको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएको जानकारी गराउँदै त्यस सम्मेलनमा आफूले प्राप्त गरेका ज्ञान, सीप र अनुभवहरु सहभागिहरु समक्ष प्रस्तुत गरेका थिए ।
त्यसैगरि, नेल्टा गण्डकीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डा. नवराज न्यौपानेले नेल्टाको सहयोगमा गतवर्ष मात्रै अमेरिकाको पोर्टल्याण्डमा आयोजित अन्तराष्ट्रिय सम्मेलन (टिसोल) मा भाग लिएको बताउँदै सो क्रममा आफूले प्रस्तुत गरेको अनुसन्धान पत्रको सारांश र सम्मेलनबाट प्राप्त अनुभवहरु सहभागीहरु समक्ष प्रस्तुत गरेका थिए ।
त्यस्तै, कार्यक्रममा नेल्टा गण्डकीका वरिष्ठ उपाध्यक्ष डा. पिताम्बर पौडेलले बंगलादेशमा आयोजित अंग्रेजी शिक्षकहरुको अन्तराष्ट्रिय सम्मेलन (बेल्टा) का अनुभवहरु र नेल्टा गण्डकीका सचिव विनोद न्यौपानेले अमेरिकी राजदुतावास, रेलो र एक्सेस कार्यक्रमको विद्धतवृतिमा अमेरिका पुग्दाको अनुभव साथै सिकागो सहरको शिक्षण सिकाई प्रक्रिया र आफुले विभिन्न देशमा प्रतिनिधिहरुकाबीच प्रस्तुत गरेका अनुसन्धानपत्रको अनुभवहरु प्रस्तुत गरेका थिए ।
त्यसैगरि नेल्टा तनहुँका अध्यक्ष डा. बसन्त कंडेलको गत महिना भारतको आसाममा भएको अंग्रेजी शिक्षकहरुको अन्तराष्ट्रिय सम्मेलन (एल्टाई) र नेपालको धुलिखेलमा आयोजित स्टार अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धान पत्रहरुको साराशं र अन्य अनुभवहरु प्रस्तुत गरेका थिए ।
नेल्टा तनहुँका अध्यक्ष डा. बसन्त कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका उपाध्यक्षमा प्रकाश खड्काले कार्यक्रमको उद्धेश्य र औचित्य औल्याएका थिए । साधारण सभाका क्रममा सचिव तीर्थराज वर्देवा र कोषाध्यक्ष मनु सापकोटा पौडेलले क्रमशः संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा नेल्टा तनहुँका संस्थापक अध्यक्ष चक्र बहादुर अधिकारी, पूर्व अध्यक्ष कृष्णहरि गैरे, वरिष्ठ अंग्रेजी शिक्षक महेन्द्र न्यौपाने, पूर्व कोषाध्यक्ष गौरी ज्ञवाली लगायतका वक्ताहरुले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै नेल्टा तनहुँले जिल्लामा अङ्ग्रेजी भाषाको शिक्षण–सिकाई र विकासमा उदाहरणीय कामहरु गरेको बताए ।
नेल्टा तनहुँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका प्रस्तोताहरुको अनुभवहरु आदान प्रदान गराएर जिल्लाका अंग्रेजी शिक्षकहरुमा सकारात्मक उर्जा र उत्प्रेरणा संचार गराएको सहभागीहरुले बताए । कार्यक्रममा नेल्टा गण्डकीका महासचिव मुकेश अधिकारी, नेल्टा स्याङ्जाका अध्यक्ष ओम विक्रम सिंजाली, नेल्टा नवलपुरका अध्यक्ष पिताम्बर दाहाल, नेल्टा लम्जुङका अध्यक्ष उद्धव घिमिरे लगायत नेल्टाका आजीवन र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेल्टा तनहुँद्धारा मंसिरमा आयोजित जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय निवन्ध लेखन प्रतियोगितामा क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने विद्याथीहरुः श्रीमाया थापा (कामधेनु मावि), सलिष्मा जिसी (रामज्योति मावि), आयुषा खड्का (दमौली मोडल एकेडमी) र आशिका श्रेष्ठ (सत्यवती मावि) लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
वि.स. २०६६ सालमा स्थापना भएको नेल्टा तनहुँले जिल्लाका विभिन्न विधालय र क्याम्पसहरुमा कार्यरत शिक्षक र विधार्थीहरुका लागि प्रभावकारी शिक्षण सिकाइ, प्राज्ञिक लेखन र अनुसन्धानका विषयमा विभिन्न तालिम, गोष्ठी र सेमिनारहरु गर्दै आइरहेको छ । तनहुँमा १४३ जना अंगे्रजी भाषा–साहित्यका शिक्षकहरु यस संगठनका आजीवन सदस्य रहेका छन् ।