


तनहुँ, १९ असोज । व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लाष्टिकजन्य कृत्रिम फूलगुच्छा तथा सजावटी सामग्रीको बिक्री–वितरण, भण्डारण र प्रयोग नगर्न आग्रह गरेको छ।
नगरपालिकाले सोमबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा प्रचलित कानूनबमोजिम यस्ता सामग्रीको उत्पादन, आयात, बिक्री–वितरण, भण्डारण तथा प्रयोगमा रोक लगाइएको जनाएको हो।
नगरपालिकाले बजार तथा व्यवसायिक क्षेत्रमा अनुगमन गर्ने र कानूनविपरीत कारोबार वा प्रयोग गरेको पाइएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ।
नगरपालिकाले प्राकृतिक फूल तथा वातावरणमैत्री सामग्रीको प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्नसमेत सबैमा अनुरोध गरेको छ।