


तनहुँ, ४ मंसिर । हरिबोधनी एकादशी पर्वको अवसरमा तनहुँ जिल्लाका विभिन्न धार्मिक तथा तीर्थस्थलमा भक्तजनको सुरक्षालाई मध्यनजर गर्दै व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।
पर्वका अवसरमा जिल्लाका मठमन्दिर, धार्मिक स्थल तथा एकादशी मेला लाग्ने स्थानहरूमा हुन सक्ने भक्तजनको भीडभाडलाई व्यवस्थित गर्न र सम्भावित सुरक्षा चुनौती न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाभर प्रहरी टोली परिचालन गरेको हो।
विशेषगरी हरिबोधनी एकादशीका दिन भक्तजनको उल्लेख्य उपस्थिति हुने धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रहरीले भक्तजनको आवतजावत सहज बनाउने, भीड व्यवस्थापन गर्ने तथा कुनै अप्रिय घटना हुन नदिन आवश्यक सतर्कता अपनाएको छ।
प्रहरीले पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्न तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।