


तनहुँ, ३ मंसिर । जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र सामूहिक भावना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको सामूहिक उत्प्रेरणा अभिवृद्धि कार्यक्रमअन्तर्गत ‘कार्यालय प्रमुखसँगै सहकर्मी’ कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार क्युएफएक्स दमौलीमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीसहित ३० जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।
कार्यक्रमले कार्यालय प्रमुख र मातहतका प्रहरी कर्मचारीबीचको आपसी सम्बन्धलाई थप सुमधुर बनाउँदै सामूहिक भावना, सहकार्य र सकारात्मक कार्य वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्दै कार्यस्थलमा आत्मीयता, एकता र सहकार्यको भावना विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने र जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई आलोपालो सहभागी गराइने जनाइएको छ।