तनहुँमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८३, बिहीबार

    तनहुँ, ३ मंसिर । तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पूर्वाधार विकाससम्बन्धी काम गर्ने गरी तनहुँको दमौलीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ । व्यास नगरपालिका–४ मा कार्यालय स्थापना गरी बुधबारदेखि डिभिजनले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो ।

    नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८३ असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग मातहत रहने गरी डिभिजन स्थापना गरिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले कार्यालयको उद्घाटन गरेका छन् ।

    डिभिजन कार्यालयको भौगोलिक कार्यक्षेत्र तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहनेछ । यस डिभिजनले दुवै जिल्लामा क्षेत्रीय सन्तुलन कायम गर्न आवश्यक तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण र स्तरोन्नतिसम्बन्धी काम गर्ने जिम्मेवारी पाएको कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिए ।

    डिभिजनको मुख्य जिम्मेवारीमा वैकल्पिक सहायक मार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक, स्थानीय सडक तथा पुल निर्माण र स्तरोन्नति रहेका छन् । त्यसैगरी सामुदायिक पहुँच सुधार आयोजनासमेत डिभिजनमार्फत सञ्चालन हुनेछन् ।

    स्थानीय तहका केन्द्र तथा ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने, कृषि उत्पादनको बजारीकरणमा सहजता ल्याउने, पर्यटकीय क्षेत्रसम्मको पहुँच विस्तार गर्ने र आवश्यक पूर्वाधार विकासमार्फत क्षेत्रीय सन्तुलन कायम गर्ने उद्धेश्यले डिभिजन स्थापना गरिएको कार्यालय प्रमुख आचार्यले बताए ।

    कार्यालय सञ्चालन तथा कार्यसम्पादनका लागि डिभिजन प्रमुख एक, इन्जिनियर दुई, सबइन्जिनियर दुई, नायब सुब्बा एक, लेखापाल एक र कार्यालय सहयोगीको दरबन्दी प्रस्तावित गरिएको छ ।

    यसअघि तनहुँ र नवलपरासी पूर्वका स्थानीय पूर्वाधारसम्बन्धी कामका लागि छुट्टै डिभिजन कार्यालयको व्यवस्था नहुँदा सेवा प्रवाह तथा आयोजना कार्यान्वयनमा थप समन्वय आवश्यक पर्ने अवस्था थियो । दमौलीमा कार्यालय स्थापना भएपछि दुवै जिल्लाका पूर्वाधारसम्बन्धी योजना कार्यान्वयन, प्राविधिक सेवा तथा प्रशासनिक काममा सहजता आउने अपेक्षा गरिएको छ ।

    कार्यालयले सम्भाव्यता अध्ययन, डिपिआर, डिजाइन, लागत अनुमान, वातावरणीय अध्ययन, गुणस्तर परीक्षण, ठेक्का प्रक्रिया, भुक्तानी, सुपरिवेक्षण, विवाद समाधान तथा जनशक्ति र वित्तीय व्यवस्थापन सम्बन्धी कार्य गर्नेछ ।

    कार्यालय प्रमुख आचार्यका अनुसार कार्यालय तीन शाखामा सङ्गठित रहनेछ । प्राविधिक शाखा, योजना शाखा र प्रशासन शाखाबाट तोकिएको काम सम्पन्न हुनेछ । कार्यालयबाट चालु आर्थिक वर्षमा रु ५५ करोडको कार्यक्रम सञ्चालन गरिनेछन् । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि रु २९ करोड, स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजनाका लागि रु १७ करोड र सडक सुरक्षा तथा मर्मत सम्भार कार्यक्रमका लागि ९ करोड विनियोजन भएको छ ।