काठमाडौ । यूरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस टिम बार्सिलोनाले सानदार पुनरागमन जित निकालेको छ। मंगलबार राति बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५-४ गोलअन्तरले हराएको हो। ९ गोलको थ्रिलरमा बार्सिलोना पछि परेको अवस्थाबाट खेलमा सनसनीपूर्ण निकालेको हो।
खेलमा ४-२ ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले शानदार पुनरागमन गर्यो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई/दुई गोल गरे भने एरिक गार्सियाको नाममा एक गोल रह्यो। बेनफिकाका लागि भान्जेलिस पाभिल्डिसले पहिलो हाफमै ह्याट्रिक गरे पनि व्यर्थ रह्यो।
खेलको दोस्रो मिनेटमा नै बेनफिकाले अग्रता लिएको थियो। पाभिल्डिसले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । १३औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि खेल बराबरीमा आयो। २२औं मिनेटमा फेरि पाभिल्डिसको गोलमा बेनफिका खेलमा अगाडि आयो। ३०औं मिनेटमा उनले पेनाल्टीमार्फत ह्याट्रिक नै पूरा गर्दा पहिलो हाफमा बार्सिलोना ३-१ ले पछाडि रह्यो।
दोस्रो हाफको ६४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे। त्यसको चार मिनेटमा आत्मघाती गोलमार्फत बेनफिका ४-२ को अग्रतामा पुग्यो।
त्यसपछि बार्सिलोनाको पुनरागमन सुरु भयो। ७८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे। ८६औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खेल ४-४ को बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पुनरागमन जित दिलाए ।
गएराति नै भएका अन्य खेलहरूमा लिभरपुलले लिललाई २-१ ले हराउँदा एट्लेटिको मड्रिडले बायर्न लेभरकुसनलाई २-१ ले हरायो।