शुक्लागण्डकी महोत्सवमा दिउँसो रमेशराज, बालचन्द्र, माया र सृजनाको प्रस्तुती, साँझ दुर्गेशले स्टेज तताउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी महोत्सवमा दिउँसो रमेशराज, बालचन्द्र, माया र सृजनाको प्रस्तुती, साँझ दुर्गेशले स्टेज तताउने

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८१, आईतवार

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज (आइतवार)गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर आउने भएका छन् ।

    आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अनुसार आज दुर्गेश थापाको धमाकेदार प्रस्तुति रहने भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहने अपेक्षा छ । उनले साँझ ६ बजेपछि आफ्नो प्रस्तुती राख्ने कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले जानकारी दिए ।

    शनिवार स्याङ्जा महोत्सवमा हेलिकप्टरबाट पुगेका दुर्गेशको प्रस्तुती हेर्न दर्शकको थामिनसक्नु भिड थियो । थापाको पछिल्लो हिट गीत ‘दुश्मन हेरेको हे¥यै…’ अहिले युवापुस्तामाझ निकै लोकप्रिय छ । युट्युबमा रिलिज भएको दुई महिनामै यो गीतले २ करोड ८३ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।

    महोत्सवमा चर्चित गायक दुर्गेशसँगै आज दिउँसो लोकदोहोरी गायक रमेशराज भट्टराई, बालचन्द्र बराल, लोकदोहोरी गायीका माया गुरुङ र सृजना थापाको प्रस्तुती रहने छ । फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।

    साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।

    महोत्सवमा केहिदिन रोकिएको पालिकास्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु हुने छ । साथै रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता जारी रहेको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।

    सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।