खेलकुद शारीरिक स्वस्थका लागि मात्रै होइन, आर्थिक उपार्जनको माध्यम बन्दैछ : खेलकुदमन्त्री चौधरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेलकुद शारीरिक स्वस्थका लागि मात्रै होइन, आर्थिक उपार्जनको माध्यम बन्दैछ : खेलकुदमन्त्री चौधरी

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८१, मंगलवार

    दमाैली । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद शारीरिक स्वस्थका लागि मात्रै नभई आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताएका छन् । व्यास नगर व्याडमिन्टन क्लवले व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माण गरेको कभर्डहलको मङ्गलबार उद्घाटन गर्दै मन्त्री चौधरीले खेलकुदमा लागेर खेलाडी बाँच्न सक्ने अवस्थाको विकास हुँदै गएको बताए ।

    खेलकुद शारीरिक, मानसिक विकासका लागि मात्र नभई खेलाडीको जीवनयापन गर्ने बलियो माध्यमको रुपमा विकास हुँदै गएको मन्त्री चौधरीको भनाइ थियो । उनले भने, “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा रहँदै आएको छ, तर आज आर्थिक उपार्जनका लागि खेलकुद बन्दै गएको छ ।”

    नेपालमा केही समय पहिला भएको एनपिएल क्रिकेटले खेलाडीको आर्थिक जीवनस्तर सुधारका लागि महत्वपूर्ण काम गरेको मन्त्री चौधरीले बताए । खेल क्षेत्रमा लागेका खेलाडी अब दिगो रुपमा यही खेलमा लागेर बाँच्न सक्ने भएको चौधरीको भनाइ थियो ।

    मन्त्री चौधरीले भने, “हाम्रा नेपाली खेलाडीहरु विदेशमा खेलिरहेका छन्, उनीहरुले खेल क्षेत्रबाट राम्रो आम्दानी गरिरहेका छन् । खेल क्षेत्रमा लागेकाहरु अब निराश बन्नुपर्ने अवस्था छैन ।”

    खेलकुद क्षेत्रमा बजेट कम हुँदै गएकाले खेल क्षेत्रको विकास हुन नसकेको स्वीकार गर्दै मन्त्री चौधरीले थोरै बजेटका बीचमा पनि सरकारले खेलकुदका क्षेत्रमा उदाहरणीय काम गरेको उल्लेख गरे ।

    गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले जिल्लामा खेलकुदका पर्याप्त पूर्वाधार नभएकाले त्यसतर्फ ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेल क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरेको बताए ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव प्रदीपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति विश्व बास्तोला, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले खेलकुद राष्ट्र चिनाउने महत्वपूर्ण माध्यम भएको बताए ।

    व्यास नगरपालिकाको आर्थिक सहयोगमा कभर्ड हल निर्माण गरिएको व्याडमिन्टन क्लवका अध्यक्ष जीवन गुरुङले जानकारी दिए । उनका अनुसार कभर्ड हल निर्माणका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार दुई सय ३४ सहयोग गरेको छ भने लागत नगद सहभागिता रु सात लाख रहेको छ । त्यस्तै रु एक लाख ७८ हजार पाँच सय २२ श्रमदान गरी कूल रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्ड हल निर्माण भएको हो ।