दमौली । तनहुँ जिल्लाका चार क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट दुई क्याम्पसमा अनेरास्ववियु र एक/एक क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र अखिल (क्रान्तिकारी) विजयी भएको छ ।
व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी क्याम्पसमा अखिल (क्रान्तिकारी), शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस र भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।
भानुभक्त बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धन विजयी भएको छ । नेतृत्व चयनका लागि भएको मतदानबाट स्ववियु अध्यक्षमा अनेरास्ववियुका मिनबहादुर थापा विजयी भएका हुन्।
अध्यक्षमा विजयी थापाले एक सय २८ र प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका एजिना महतले एक सय पाँच मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक निरोज भट्टराईले जानकारी दिए । क्याम्पसमा दुई सय दुई सय ६८ मध्ये दुई सय ४१ मत खसेको थियो ।
स्ववियु सचिवमा अखिल (क्रान्तिकारी) का विनिता भण्डारी एक सय १६ मत सहित विजयी भइन् । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका सुनिल लामिछानेले एक सय नौ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियुका पुष्पा खड्का एक सय ४५ मत सहित विजयी भइन् भने प्रतिस्पर्धी नेविसङ्घका रस्मिता कार्कीले ८७ मत प्राप्त गरिन् ।
सदस्यहरुमा अनेरास्ववियुका अविजित लम्साल एक सय ३३, अञ्जली विक एक सय १६, अखिल (क्रान्तिकारी) का निराज भण्डारी एक सय १६, नेपाल विद्यार्थी सङ्घका प्रतिक्षा गिरी एक सय १३ र नेविसङ्घकै स्वस्तिका सिग्देल एक सय १२ मत सहित विजयी भएका छन् । निर्वाचनमा दुई सय ६८ मध्ये दुई सय ४१ मत खसेको थियो ।
जनज्योतिमा अनेरास्ववियु विजयी
भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल (क्रान्तिकारी) गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा दुई सय ५८ मतमध्ये दुई सय ४४ मत खसेको थियो ।
अध्यक्षमा विजयी भण्डारीले एक सय ३१ मत प्राप्त गरे भने अध्यक्षका प्रतिस्पर्धी नेविसङ्घ र अखिल (क्रान्तिकारी) गठबन्धनका अमृत गैह्रेले एक सय नौ मत प्राप्त गरे ।
सचिवमा अनेरास्ववियुका अस्मिता क्षेत्री एक सय २१ मत प्राप्त गरी विजयी भइन् भने प्रतिस्पर्धी नेविसङ्घका दिपा रानाले एक सय २० मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अनेरास्ववियुका यसुमाया थापा एक सय ३२ मत प्राप्त गरी विजयी भइन् भने प्रतिस्पर्धी नेविसङ्घका कासिका रानाले एक सय सात मत प्राप्त गरिन् ।
सदस्यहरुमा अनेरास्ववियुका सुजन पौडेल एक सय २३, साविया खातुन मियाँ एक सय २२, विष्णु उच्चै एक सय २१, विनिता रसाइली एक सय २८ र ममता सिग्देल एक सय २२ मत प्राप्त गरी विजयी भए ।
आदिकवि भानुभक्त क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका आले विजयी
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी सङ्घको प्यानल विजयी भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट स्ववियु अध्यक्षमा अनुप आले निर्वाचित भएका छन् ।
यद्यपि निर्वाचनमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजवादी) ले भाग लिएको थिएन । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अनेरास्ववियुले उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।
निर्वाचनबाट अध्यक्षमा निर्वाचित आलेले पाँच सय मत प्राप्त गरेका छन् । सचिवमा निर्वाचित सागर पाण्डेले चार सय ७१, कोषाध्यक्षमा निर्वाचित रोशन ओझाले चार सय ७९ मत प्राप्त गरे ।
एक हजार पाँच सय ७७ मतदातामध्ये मतदानमा पाँच सय ५५ मत खसेको थियो ।
आँबुखैरेनी क्याम्पसमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी
आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । नयाँ नेतृत्व चयनका लागिभएको मतदानबाट स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगर विजयी भएका छन् ।
उनले ९७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिए । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका बोनिस अधिकारीले ६४ मत प्राप्त गरे । उम्मेदवारी फिर्ता लिएपनि अनेरास्ववियुका रक्षा पोख्रेलको सात मत आएको छ ।
यस्तै सचिवमा अखिल (क्रान्तिकारी) का गङ्गाप्रसाद लामिछाने ९२ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका किस्ता श्रेष्ठले ६२ र अनेरास्ववियुका मोनिका खत्रीले १२ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का करुणा गुरुङ ९० मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका अविनास थापाले ५६ र अनेरास्ववियुका आशिष अधिकारीले १८ मत प्राप्त गरे ।
सदस्यहरुमा मेनुका खत्रीले ९२, सुरे नेपालीले ९२ र विज्ञा राना मगरले ८५ मत प्राप्त गरी विजयी भए ।
निर्वाचनमा दुई सय पाँच मतदाता रहेकामा एक सय ७५ मत खसेको थियो ।