दमाैली, २३ चैत । तनहुँको व्यास नगरपालिकामा करिब रु दुई करोड लागतमा चिस्यान केन्द्र निर्माण भएको छ । व्यास नगरपालिका–११ मा रु एक करोड ९१ लाख ३२ हजार सात सय २२ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो ।
रु एक करोड ६२ लाख ३२ हजार दुई सय ४६ मा ठेक्का लागेपनि रु १९ लाख ९८ हजार छ सय २७ वृद्धि भई कर सहित रु एक करोड ९१ लाख ३२ हजार सात सय २२ मा चिस्यान केन्द्र निर्माण सम्पन्न भइ शुक्रबार उद्घाटन गरिएको छ । विसं २०८० वैशाख ४ गतेदेखि चिस्यान केन्द्र निर्माण थालिएको थियो ।
नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चिस्यान केन्द्रको उद्घाटन गर्दै चिस्यान केन्द्र सञ्चालनमा आएकाले कृषकलाई कृषि उपज सामग्री भण्डारण गरी राख्न सहयोग हुने बताए । कृषि उपज सामग्री चिस्यान केन्द्रमा भण्डारण गरी चाहेको समयमा विक्री गर्न पाउँदा कृषकलाई मूल्यमा समस्या नहुने उनकाे भनाइ थियो ।
शीतभण्डार सञ्चालनमा आएपछि किसानहरूले कृषि उपजको भण्डारण गर्न सहज हुने वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिए । यहाँ विशेषगरी आलु, तरकारी तथा अन्य कृषि उपजको दीर्घकालिन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न सहयोग मिल्ने उहाँको भनाइ छ ।