दमौली, २७ चैत । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पूर्वीखण्डमा १७ वटा पुल निर्माण पूरा भएको छ । प्रिकाष्ट प्रविधिबाट सो सङ्ख्यामा पुल निर्माण पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार चीनबाट विकसित भएको यो प्रविधिबाट छिटो पुल निर्माण गर्न सकिन्छ । प्रिकाष्ट प्रविधिबाट छुट्टै निर्माण गरिएको पुलको स्लोप मिच्छाइने भएको पुल निर्माण छिटो हुन्छ । यस चाइनिज प्रविधिबाट अन्यभन्दा छिटो पुल निर्माण गर्न सकिन्छ । पूर्वी खण्डको ठेक्का पाएको चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर पुल निर्माण गरिएको हो । साना र ठुला गरी १७ पुल निर्माण पूरा भइसकेको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
पाण्डेको अनुसार मादी नदीमाथि बन्दै गरेको चार लेनको पुलको काम ६८ प्रतिशत पूरा भएको छ । ६६ किलोमिटर पूर्णरुपमा सम्पन्न भएको छ । पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको सो दूरीमा दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टि मिटरको गरी अन्तिम चरणको कालोपत्र गरिएको हो ।
पाण्डेका अनुसार यस खण्डमा हालसम्म ७५ किलोमिटर कालोपत्रे पूरा भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा हालसम्म चार लेन र दुई लेन गरी सो दूरीमा कालोपत्रे भएको हो । इन्जिनियर पाण्डेले भने, “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७५ किलोमिटर दूरी कालोपत्रे भएको छ ।” काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको र हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।
पाण्डेका अनुसार दायाँ ३७ र त्यस्तै बायाँ ३७ गरी ७४ र एक किलोमिट एक तर्फी गरी ७५ किलोमिटरमध्ये ६६ किलोमिटरमा अन्तिम कालोपत्रे सकिएको हो ।
पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भइ २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । विसं। २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा लागेको छ ।
एसियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ ।