दमाैली, ३१ चैत । नेपाली सेनाले सुरु गरेको तेस्रो एकीकरण पदयात्राको टोलीलाई चौथो दिन आज तनहुँको घिरिङमा स्वागत गरिएको छ । चैत २८ गते गोरखाबाट सुरु भएको गोरखा–जितगढी एकीकरण पदयात्रा आइतबार घिरिङ पुगेको हो ।
घिरिङ पुगेको पदयात्रा टोलीलाई गाउँपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले स्वागत गरेका छन् । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले नेपाली सेनाले इतिहासको संरक्षणका लागि सेनाको भूमिका उदाहरणीय रहेको बताए ।
व्यास नगरपालिका–११ तनहुँसुरबाट शनिबार हिँडेको पदयात्रा आज घिरिङ गाउँपालिकास्थित धेनुङ देउराली पुगेर कालीभञ्जन गण (इ) ले पदयात्राको झण्डा श्री नम्बर ३ राजदल गणलाई हस्तान्तरण गरेको छ । तनहुँसुरदेखि घिरिङसम्मको पदयात्राको व्यवस्थापन कालीभञ्जन गण (इ) ले गरेको गणका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।
धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीले श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गर्ने राजदल गणका प्रमुख सेनानी रवि खड्काले जानकारी दिए । वैशाख २ गते केलादीघाटमा राजदल गणले गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्नेछ ।
वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी ३ सय ५ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।
पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तमा हस्तान्तरण गर्ने उद्धेश्यले पदयात्रा आयोजना गरिएको हो ।