पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८१, आईतवार

    दमाैली, ३१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आइतबारदेखि सुरु भएको १२ औं सांस्कृतिक तथा मौलिक सडक खाना महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले बन्दीपुर पर्यटकीय सम्भावना बोकेको पालिका भएकाले पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए।

    गण्डकी प्रदेशको राजधानी पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बन्दीपुर विकास भइरहेको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले यहाँको पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

    मुख्यमन्त्री पाण्डेले भने, “पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्नुपर्छ । त्यसका लागि पालिकासँग मिलेर के गर्न सकिन्छ हामी सहयोग गर्छौ ।” स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नुपर्ने बताउँदै गण्डकी प्रदेश त्यसका लागि बन्दीपुर गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको उनकाे भनाइ थियो ।

    बन्दीपुर भ्रमण वर्ष २०२५ ले बन्दीपुरको मात्र नभइ समग्र गण्डकी प्रदेशकै पर्यटन प्रबद्र्धनका लागि सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । उनले भने, “बन्दीपुरबारे देश नै जानकार छ, यहाँ सञ्चालन हुने पर्यटकीय गतिविधिले समग्र प्रदेशलाई फाइदा पुग्नेछ ।”

    मुख्यमन्त्री पाण्डेले सीमित स्रोत र साधनका बीचमा प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाएको बताए।

    बन्दीपुर भ्रमण वर्ष सफल बनाउन र नयाँ वर्षमा बन्दीपुरमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले बताए।

    रैथाने खाना महोत्सवमा विभिन्न रैथाने परिकारहरुको स्वाद लिन पाइने जनाइएको छ । महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । मगर, नेवार, गुरुङ, ब्राम्हण लगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिए।