दमौली, १ वैशाख। तनहुँको शुक्लागण्डकी–९ मा अवस्थित ढोरबाराही मन्दिरमा विहिवार विहानैदेखि भक्तजनको घुँइचो लागेको छ । नयाँ वर्षमा यस मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । देशका विभिन्न स्थानबाट भक्तजनहरु पुजाआजाका लागि आउने गरेको वडा अध्यक्ष बाबुराम पुलामीले जानकारी दिए ।
सो मन्दिर दुलेगौडाबाट करिव पॉच किलोमिटर टाढा रहेको छ । मन्दिरमा तनहुँका साथै कास्की, स्याङ्जा, लमजुङ्, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन् । प्रत्येक आधा घण्टामा रहस्यमय ढङ्गले भूमिगतरूपमा चल्ने पानीको लहरीले ढोरबाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको स्थानीयहरु बताउछन् ।
प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्वलाई बढाएको छ ।