दमौली, २ वैशाख । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कौरा नृत्यमा छमछमी नाचेका छन् । बन्दीपुरमा जारी १३औँ सांस्कृतिक तथा सडक खाना महोत्सवका अवसरमा सोमबार विदेशी पर्यटक कौरा नाचेका हुन् ।
मगर समुदायको प्रख्यात उक्त नाच महोत्सवमा प्रस्तुत गरिएको थियो । मगर समुदायका युवायुवतीसँगै विदेशी पर्यटकले उक्त नाचमा सहभागिता जनाएका थिए । नेपाली समुदायको कला, संस्कृति र रितीरिवाज देखेर विदेशी पर्यटक मोहित भएको बन्दीपुर भ्रमण वर्ष २०२५ का सचिवालय संयोजक वैशबहादुर गुरुङले जानकारी दिए ।
उनले भने, “महोत्सवमा विभिन्न जातजातिका कला, संस्कृति, नृत्य प्रवर्द्धन गरेका छौँ । बन्दीपुरभित्रका मगर, गुरुङ, नेवार जातजातिका नाचलाई समावेश गरेका छौँ ।”
बन्दीपुर भ्रमण वर्ष भर विविध कार्यक्रम गरिने गुरुङको भनाइ छ । महोत्सवमा विभिन्न रैथाने समुदायले बनाउने परिकारको स्वाद लिन पाइने जनाइएको छ । महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिए ।