वैशाख पहिलो मङ्गलबार थानीमाइमा १५ डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वैशाख पहिलो मङ्गलबार थानीमाइमा १५ डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    दमाैली, ३ वैशाख । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा वैशाखको पहिलो मङ्गलबार आज १५ फूलको डोली भित्रिएको छ । विभिन्न ठाउँबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् ।

    त्यसक्रममा एक हजार पाँच सय ९५ भक्तजनले मन्दिरमा पूजाआजा गरेको थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए। त्यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या २५ जना रहेको थियो ।

    प्रत्येक वर्ष वैशाख, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

    उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।

    भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

    समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

    विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाई छ ।