प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा समवेदना व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा समवेदना व्यक्त

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    दमौली, ३ वैशाख । प्रजातन्त्र सेनानी मोतिकुमार श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समवेदना व्यक्त गरेका छन् । व्यास नगरपालिका-२ दमौली निवासी श्रेष्ठको मंगलबार राति निधन भएको थियो ।

    जीवनपर्यन्त प्रजातान्त्रिक आन्दोलन एवं संघर्षहरुमा होमिएका स्वर्गीय श्रेष्ठ २००७ सालको जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा अग्रपंक्तिमा रहेर भाग लिएका जीउँदो शहीद थिए । उनीसँगै गएका साथीहरु गोली लागि शहीद भएका थिए । उनको पैत्रिक थलो तनहुँसुर हरिया हो, जहाँ बन्दीपुर संघर्षमा मारिएका ६ जना शहीद मध्ये ४ जना यसै गाउँका थिए ।

    विसं २००७ सालदेखि जीवनपर्यन्त प्रजातान्त्रिक आन्दोलन एवं संघर्षहरुमा सक्रिय श्रेष्ठ २०१७ सालपछि प्रजातन्त्र पुनर्स्थापनाका यावत घटनाहरुमा सक्रिय सहभागी थिए । विसं २०२५ सालमा तनहुँको सदरमुकाम दमौली सरेपछिका अत्यन्त संकट र कठिन दिनहरुमा बसोबास, रसदपानी, कार्यालयहरुको व्यवस्थापनका साथै दमौली बजार बस्ती बसाउने कार्यमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

    जननायक बी.पी. कोइराला पहिलोपल्ट तनहुँ भ्रमणमा जाँदा र २०३६ को जनमत संग्रहमा असोज ६ गते दमौली जॉदा आमसभा लगायतका कार्यहरुमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

    विसं २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलनमा महत्वपूर्ण कागजात सुरक्षित राखिदिने, आन्दोलनकारीलाई लुकाउने, आश्रय दिने र घाइतेको उपचारको प्रबन्ध गरिदिने जस्ता सहयोग गर्दा सुरक्षाकर्मीबाट गिरफ्तारीमा समेत परेका थिए । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले निर्वाह गरेको सक्रिय भूमिका पार्टीमा सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।